जन्मदिनको अवसरमा युवा व्यवसायी तथा नेविसंघ एकाई सभापति द्वारा शैक्षिक सामग्री वितरण

सिन्धुली । फजुल खर्च हटाउँदै सामाजिक उत्तरदायित्वमा उदाहरणीय योगदान दिने उद्देश्यले युवा व्यवसायी तथा नेपाल विद्यार्थी संघ भीमज्योति क्याम्पस खुर्कोटका एकाई सभापति खुस बहादुर दाहाल (अञ्जन) ले बुधवार (हिजो) आफ्नो २६ औँ जन्मोत्सवको अवसरमा विभिन्न विद्यालयका विद्यार्थी तथा शिक्षकहरूलाई शैक्षिक सामग्री वितरण गरेका छन्।
उनले सिन्धुलीको ग्वालटारस्थित कौशिका माध्यमिक विद्यालयका कक्षा १ देखि ५ सम्म अध्ययनरत ७० जना विद्यार्थीलाई कापी र डटपेन तथा २४ जना शिक्षकलाई शिक्षक डायरी प्रदान गरे।
त्यसैगरी, देउरालीटारस्थित प्रभात आधारभूत विद्यालयका कक्षा १ देखि ८ सम्म अध्ययनरत १०० जना विद्यार्थीलाई समेत कापी र डटपेन वितरण गरिएको छ।
कार्यक्रममा बोल्दै सभापति दाहालले भने, “जन्मोत्सवमा भोज र पार्टीमा खर्च गर्नुको सट्टा त्यही रकम शिक्षा क्षेत्रमा खर्च गर्दा अझ अर्थपूर्ण र प्रेरणादायी कार्य हुन्छ भन्ने सोचले मैले यो निर्णय गरेको हुँ। शिक्षा नै परिवर्तनको आधार हो।”
विद्यालयका शिक्षक, अभिभावक र स्थानीय समुदायले दाहालको उक्त कार्यको प्रशंसा गर्दै यस्ता कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरेका छन्।

माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

सम्बन्धित खबर