एमालेलाई गाली नगरी बाँच्न सक्दैनन् माओवादी र रास्वपा! -उपमहासचिव ज्ञवाली

भक्तपुर,२३ जेठ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमालेविरुद्ध विपक्षी दलहरू संगठित रूपमा लागेको आरोप लगाएका छन्। शुक्रबार भक्तपुरमा आयोजित बागमती प्रदेशस्तरीय कार्यशालालाई सम्बोधन गर्दै उनले राजावादी, माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका दलहरू एमालेको आलोचना नगरी आफ्नो राजनीतिक यात्रा अघि बढ्न नसक्ने अवस्थामा पुगेको टिप्पणी गरे।
“अहिले एमालेलाई गाली नगरी राजावादी, माओवादी र रास्वाको राजनीति चल्दैन। एमाले गणतन्त्रवादी भएकाले राजावादीहरू स्वाभाविक रूपमा हाम्रो विपक्षमा छन्। माओवादीको ३२ सिटको जादु असफल भएपछि उनीहरू पनि सरकार र एमाले नेतृत्वविरुद्ध उत्रिएका छन्। रास्वपा भने पुराना दलहरूलाई गाली नगरी अघि बढ्न नसकिने निष्कर्षमा पुगेको छ,” उपमहासचिव ज्ञवालीले भने।
उनले निर्वाचनमा एमालेविरुद्ध चौतर्फी घेराबन्दी भए पनि त्यो तोडेर एमाले पुनः सरकारमा पुग्न सफल भएको दाबी गरे। “एमालेको प्रभावकारी प्रचार, जनप्रतिनिधिहरूको काम, र पार्टी तथा जनसंगठनहरूद्वारा जनस्तरसँगको निरन्तर सम्पर्कका कारण जनमत बढ्दो छ,” उनले भने।
ज्ञवालीले ‘मिशन ८४’ अन्तर्गत आगामी निर्वाचनलाई लक्षित गरेर आ-आफ्नो स्थानबाट सक्रिय भूमिका खेल्न सबैलाई आग्रह गरे।
कार्यक्रममा बागमती प्रदेश उपसचिव तथा प्रचार विभाग प्रमुख भक्तकुमारी लामाले दुईदिने कार्यशालाबाट १०१ सदस्यीय प्रचार सञ्जाल गठन गरिएको जानकारी दिइन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।