सिन्धुलीमा गुणस्तरीय बीउ उत्पादनको लागि अन्तर्क्रिया
गुणस्तरीय बीउ उत्पादनको आधारभूत चुनौती र समाधानमा जोड

सिन्धुली, २० जेठ २०८२ । बागमती प्रदेश कृषि विकास निर्देशनालय र कृषि विकास कार्यालय सिन्धुलीको संयुक्त आयोजनामा “बीउ बिजन अन्तर्क्रिया” कार्यक्रम सम्पन्न भएको छ।
आइतबार (आज) सिन्धुलीमाढीमा भएको अन्तरक्रियामा “स्रोत निरीक्षण, बीउ परीक्षण र प्रमाणीकरण” अन्तर्गत गुणस्तरीय बीउ उत्पादनको महत्त्व, चुनौती र सहकारी संस्थाहरूको भूमिका छलफल भएको थियो।
बागमती प्रदेश बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्र हेटौँडाका प्रमुख राजन ढकालले स्थानीय बीउ उत्पादनमा विश्वासको अभाव रहेको बताए। “छिमेकीले पनि हाम्रो बीउमा अविश्वास गर्छन्। यसको कारण गुणस्तर नियन्त्रणका न्यूनतम सिद्धान्त अपनाउन नसक्नु हो,” उनले जोड दिए। उनले बीउ उत्पादकहरूलाई योजनाबद्ध रूपमा सहकारी संस्था र कृषक समूहसँग जोड्न आग्रह गरे। ढकालले सिन्धुलीमा अझै सेवा गर्ने चाहाना अधुरै रहेको बताउँदै, “गुणस्तर नियन्त्रणबाट मात्र कृषकको विश्वास जित्न सकिन्छ। यसलाई टिकाउन सबैले सहयोग गर्नुपर्छ।”
त्यस्तै पहिलो पटक हरीहरपुरगढी गाउँपालिकामा नेपाल कृषि अनुसन्धान परिषद् (NARC)र हेटौँडा बीउ विजन नियन्त्रण केन्द्रको निगरानीमा मकैको हाइब्रिड बीउ परीक्षण भइरहेको छ। कृषि अधिकृत प्रवेश देवकोटाले गुणस्तरीय बीउ उत्पादनमा स्थानीय सहभागिता बढाउन आवश्यक रहेको बताए।
कृषि विकास कार्यालय सिन्धुलीकी निमित्त प्रमुख उमादेवी श्रेष्ठले धान, मकै र आलुको बीउ उत्पादनमा प्रयास जारी रहेको बताइन। सुनकोशी र दुधौलीमा मकै बीउको ब्लक परीक्षण भइरहेको उनले जानकारी दिइन। त्यसतै मरिण-६ कपिलाकोटमा बीउ भण्डारण निर्माण पनि हालसम्म सञ्चालनमा आउन नसकेको बताइन ।
कर्मतारा साना किसान कृषि सहकारीका संस्थाका उपाध्यक्ष गोविन्द बस्नेतले पहिलो पटक बीउ उत्पादन गर्ने लक्ष्य राखेको बताए। “हामी राज्य र किसानबिच मध्यस्थ हुनेछौँ। सरकारले उत्पादनमा मात्रै होइन, भण्डारण र बजारीकरणमा समन्वय गर्नुपर्छ,” उनले भने।
कार्यक्रममा बिउ उत्पादक सहकारी तथा समूहका प्रतिनिधि, वितरक, स्थानीय तहका कृषि प्राविधिक,जिल्ला स्थित कृषि सामाग्री कम्पनी, कन्दमूल विकास केन्द्र, भेटनरी र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ सिन्धुलीका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।