स्वर्गीय प्रमुख सेनानी ‘कबिन्द्रजंग थापा स्मृति अक्षयकोष’को ब्याजबाट ५ विद्यार्थीलाई छात्रवृत्ति प्रदान

सिन्धुली, १९ जेठ २०८२ । सिन्धुलीको गौमति माध्यमिक विद्यालयले स्वर्गीय प्रमुख सेनानी कबिन्द्रजंग थापा स्मृति दिवसको अवसरमा विद्यार्थीहरूलाई छात्रवितृ वितरण गरेको छ ।

जिल्लाको कमलामाई नगरपालिका–६ स्थित गौमति माविले स्वर्गीय प्रमुख सेनानी कबिन्द्रजंग थापाको सम्झनामा स्थापना गरिएको अक्षयकोषको ब्याजबाट ५ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो ।

अक्षयकोषका दाता एवं स्वर्गीय प्रमुख सेनानी कबिन्द्रजंग थापाकी जीवन संगिनी इन्दु थापा र विद्यालय व्यवस्थापन समिति अध्यक्ष कर्ण घिसिङले विद्यार्थीहरूलाई आज छात्रवृत्ति हस्तान्तरण गरेका हुन् । गौमति माविमा २०६५ असोज १७ गते २ लाख १ रुपैयाँको अक्षयकोष स्थापना गरिएको थियो । अहिले उक्त ४ लाखको मूल पुँजी ४ लाख ८० हजारको रुपैयाँको सञ्चित ब्याज रकमबाट छात्रवृत्ति वितरण गरिएको गौमति माविका प्रधानाध्यापक दीपक बुढाथोकीले बताए ।

तस्विर/ स्वर्गीय प्रमुख सेनानी कबिन्द्रजंग थापाको फोटोमा माल्यार्पण गर्दै जीवन संगिनी इन्दु थापा

गरिब विपन्न तथा आमा बुबा नभएका जेहेन्दार छात्रछात्राहरू कक्षा ६ मा अध्ययनरत दिव्या ठाकुर,कक्षा ५ मा अध्ययनरत मन्दिरा गौतम मन्दिरा मोक्तान पुष्पा पौडेल र कक्षा ७ मा अध्ययनरत दिप भुजेललाई ४ हजारको दरले छात्रवृत्ति प्रदान गरिएको छ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष घिसिङले स्वर्गीय प्रमुख सेनानी कबिन्द्रजंग थापालाई श्रद्धाञ्जली व्यक्त गर्दै, उनको सम्झनामा स्थापना गरिएको स्मृति अक्षयकोष देशको भविष्य बोकेका विद्यार्थीहरूको शिक्षामा लगानी  गरिएकाले फलदायी हुने बताए । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिसँगै भौतिक विकासका लागि आफूले निरन्तर सहयोग गर्ने उनले बताए । गौमति मावि जिल्लाको प्रतिष्ठित नमुना विद्यालय हो ।

को हुन् ? स्वर्गीय कबिन्द्रजंग थापा !

सिन्धुलीको कमलामाई नगरपालिका-५ मधुटार निवासी नेपाली सेनाका प्रमुख सेनानी कबिन्द्रजंग थापा कङ्गोमा सहादत प्राप्त सैनिक अधिकृत हुन् । उनको  jun 2005 (२०६२ साल जेठ १८) मा शान्ति स्थापनार्थ तैनाथ रहँदा डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोमा मृत्यु भएको थियो । शान्ति स्थापनार्थ कङ्गोमा खटिएका बेला निधन भएका प्रमुख सेनानी कबिन्द्रजंग थापाको नाममा वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालमा कविन्द्र मण्डप निर्माण गरिएको छ ।

तत्कालीन संयुक्त राष्ट्रिय सङ्घका महासचिव बान कि मुनले नेपालको संविधानसभाको विशेष बैठकमा उच्च समर्पण भावको अनुपम नमुना प्रस्तुत गर्दै वीरगति प्राप्त गर्ने स्वर्गीय थापालाई सम्झिँदै नेपाली सेनाको तारिफ गरेका थिए ।

उनले भनेका थिए, “ एक नेपाली सैनिकको वीरताको कथा मेरो दिमागमा अझै ताजा नै छ । जुन २००५ मा सेनानी कबिन्द्रजंग थापाले डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोको खतरनाक भूभागमा जाने समयमा एक मानव अधिकारकर्मीको टोलीलाई सुरक्षा प्रदान गर्न सहयोग गरिरहेका थिए । उनीहरूले त्यहाँको युद्धको सबैभन्दा निकृष्ट ज्यादती सामूहिक बलात्कारका बारेमा छानबिन गर्दै थिए । उक्त टोलीको हिँड्ने काममा सयौँ सशस्त्र मिलिसियाले हेलिकोप्टरलाई घेरे र गोली बर्साउन थाले । सेनानी थापाले प्रत्येक व्यक्ति सुरक्षित साथ हेलिकोप्टर चढाए ।

हेलिकोप्टरमा चढ्ने उनी अन्तिम व्यक्ति थिए। हेलिकोप्टर भित्र चढ्ने बित्तिकै उनीलाई गोली लाग्यो र उनको निधन भयो । थापाले आफ्ना साथीहरूको सुरक्षा गर्दै ज्यान दिए । उनले शान्ति र मानवअधिकारको रक्षार्थ ज्यान दिए । उनले संयुक्त राष्ट्रसङ्घको रक्षा गर्दै ज्यान दिए । उनको वीरतामा हामीले नेपालका सम्पूर्ण जनताहरूले प्रधानमन्त्री प्रचण्डको देशलाई ‘शान्तिको नमुना’ बनाउने सपना चरितार्थ गर्ने सक्ने सम्भावना बोकेको देख्न सक्छौँ ।”


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर