विपक्षी दलले बजेट पारित गर्न सहजीकरण गर्नेमा विश्वस्त छौँः प्रमुख सचेतक घिमिरे

काठमाडौँ। सत्तारुढ नेपाली कांग्रेसले संसदमा प्रस्तुत भएको आगामी आर्थिक वर्ष २०८/२०८३ को बजेटलाई पारित गर्न विपक्षी दलहरूले सहजीकरण गर्ने विश्वास लिएको छ ।
शुक्रबार सभामुख देवराज घिमिरेले बोलाउनुभएको प्रमुख सचेतकहरुको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे यस्तो बताएको हो ।
उनले बिहीबारको संसद बैठकमा प्रस्तुतिलाई सहजीकरण गरेको भन्दै प्रतिपक्षी दलहरूलाई धन्यवाद दिनुभयो । उहाँले जेठ १५ मा बजेट ल्याउने संवैधानिक दायित्व रहेकोले उक्त दायित्व पूरा गर्ने विषयमा प्रतिपक्षी दलहरूले जिम्मेवारी बोध गरी सहजीकरण गरेको जिकिर गरे।
प्रमुख सचेतक घिमिरेले बजेटलाई पारित गर्नुपर्ने विषय पनि संवैधानिक दायित्वभित्रै पर्ने भएकोले विपक्षी दलहरूले बजेटको सेसनलाई अगाडि बढाउने कुरामा सहजीकरण गर्नेमा आफूहरूले विश्वास लिएको बताए ।
उनले भने, “प्रतिपक्षीलाई धन्यवाद छ, हिजोको बजेट प्रस्तुतिलाई सहजीकरण गरे । जेठ १५ मा बजेट ल्याउने जुन संवैधानिक दायित्व थियो, उक्त संवैधानिक दायित्व पूरा गर्ने कुरामा उनीहरूले आफ्नो जिम्मेवारी बोध गरेर सहजीकरण गरे। त्यसका लागि धन्यवाद छ । बजेटलाई पारित गर्नुपर्ने कुरा पनि संवैधानिक दायित्वभित्र नै पर्छ । त्यो संवैधानिक दायित्वको बोध गरेर उनीहरूले बजेटको सेसनलाई अगाडी बढाउने कुरामा सहजीकरण गर्नुहुनेछ र उक्त वातावरण निर्माण गर्नेछन् भन्ने हामी विश्वास गर्छौं ।”
उनले सभामुख घिमिरेको नेतृत्वमा बसेको बैठक संसदको क्यालेण्डर बनाउने विषयमा केन्द्रित रहेको बताए । उनले बजेटमाथि छलफल र विनियोजित विधेयकमाथिको छलफललाई लिएर क्यालेण्डर बनाउने विषयमा मोटामोटी सहमति भएको समेत जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।