सुनकोशीको बाढीले बगाएको कुशेश्वरी प्राविको पुनर्निर्माण, नयाँ भवन उद्घाटन

गोलन्जोर । सिन्धुलीको गोलन्जोर गाउँपालिका-३ सिम्लेबेसीस्थित कुशेश्वरी प्राथमिक विद्यालयको नयाँ दुई तले पक्की विद्यालय भवनको औपचारिक उद्घाटन गरिएको छ।
गत वर्ष असोजमा सुनकोशी नदीमा आएको बाढीले पुरानो अस्थायी भवन बगाएपछि निर्माण गरिएको यस चारकोठे भवनले विद्यालयको भौतिक संरचनालाई स्थायित्व दिएको छ।
सीएसडीएस सिन्धुलीले जर्मनीस्थित संस्था ब्याक टू लाइफ इभीको सहयोगमा यो भवन निर्माण गरेको हो। सीएसडीएसका परियोजना व्यवस्थापक विष्णु पौडेलका अनुसार भवन निर्माण तथा कक्षा कोठामा प्रयोग हुने सामग्रीको लागि करीब १ करोड १५ लाख रुपैयाँ खर्च भएको छ।
सो भवनको उद्घाटन गोलन्जोर गाउँपालिकाका अध्यक्ष शंकरराज बरालले गरे । उद्घाटन कार्यक्रममा स्थानीय निर्वाचित प्रतिनिधिहरू, शिक्षक, अभिभावक, विद्यार्थीहरू तथा गाउँपालिकाका कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
विद्यालयको नयाँ स्वरूप देखेर सबैजना हर्षित देखिन्थे। शिक्षकहरूले अब सुरक्षित वातावरणमा अध्यापन गर्न पाउने भन्दै खुसी व्यक्त गरे। विद्यालयका एक शिक्षकले भने, “अब वर्षामा पानी चुहिने डर छैन, हामी ढुक्क भएर पढाउन सक्छौं।”
स्थानीय अभिभावकहरू पनि भावुक बनेका थिए। एक अभिभावकले भने, “पहिले डराउँदै बच्चा पठाउँथ्यौं, अहिले सपना पूरा भएको जस्तो लागेको छ।”
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ले नयाँ भवनले पठनपाठनलाई थप प्रभावकारी बनाउन सहयोग गर्ने बताए। “सुरक्षित भवनले मात्र होइन, शिक्षण रणनीतिमा पनि नयाँ प्रयोग गर्न हामी अब तयार छौं,” उनले भने।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष बरालले भने, “शिक्षा सुधारको अभियानमा यो भवन निर्माण प्रेरणादायी छ। सीएसडीएस र ब्याक टू लाइफ जस्ता संस्थाहरूको सहकार्यले असहज अवस्थाबाट नयाँ सम्भावनाको ढोका खोलिएको छ।”
उनले गुणस्तरीय शिक्षाका लागि भौतिक पूर्वाधारसँगै योग्य शिक्षक र समुदायको सहभागिता अनिवार्य रहेको उल्लेख गरे।
कार्यक्रममा गाउँपालिका शिक्षा शाखा प्रमुख सुष्मा आचार्यले सीएसडीएस र ब्याक टू लाइफको योगदानप्रति आभार व्यक्त गरिन् । प्रशासकीय प्रमुख चन्द्रकान्त चौधरीले आगामी दिनहरूमा यस्ता परियोजनामा गाउँपालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।
कार्यक्रम सीएसडीएसका परियोजना व्यवस्थापक विष्णु पौडेलको सभापतित्वमा सम्पन्न भएको थियो भने प्रमुख अतिथि गाउँपालिका अध्यक्ष शंकरराज बराल थिए ।
नयाँ भवनले विद्यालयमा अध्ययनरत बालबालिकाहरू, शिक्षक र अभिभावकलाई नयाँ ऊर्जा र प्रेरणा दिएको सहभागीहरूको प्रतिक्रिया रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।