केपी ओलीलाई हावाहुरीमा दियो जोगाए जस्तै बचाएर राखेकी छु: राधिका शाक्य

५ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बेलाबेला गर्वका साथ भन्ने गर्छन्, ‘म रातभरि काम गर्छु, पढ्छु, तीन/चार घण्टा मात्रै सुत्ने गर्छु ।’
प्रधानमन्त्री ओलीसँग रातको १२ बजेतिर बैठक गर्ने सङ्ख्या पनि काठमाडौँमा प्रशस्तै छ । तर प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई यसरी श्रीमान्‌ले रातभरि काम गरेको वा मिटिङ गर्ने गरेको चित्त बुझेको छैन ।
सोमबार आफ्नो पुस्तक ‘करुणा’का बारेमा सञ्चारकर्मीहरूसँग उनले भनिन्, ‘केपी सर दिनको ८–१० घण्टा सुत्नुहोस् भन्ने चाहन्छु । त्यसले उहाँको स्वास्थ्य अवस्था पनि राम्रो हुने थियो । तर परिस्थितिका कारण उहाँ राति धेरै सुत्न पाउनुहुन्न, सुत्नुहुन्न ।’
ओलीको स्वास्थ्यका लागि पनि उनलाई लामो समय आराम गर्न आफूले आग्रह गरे पनि त्यसमा सफल हुन नसकेको उनले बताइन् । ‘राति धेरै समय काम गर्ने, पढ्ने वा बैठक गर्ने उहाँको बानीलाई मैले सुधार्न सकिनँ ।’ हावाहुरीमा दियो जोगाए जस्तै गरी उहाँलाई बचाएर राखेकी छु ।
रातको समय ओलीले लेखपढ गर्ने मात्रै नभई अन्य काम पनि गर्ने गरेको राधिकाले बताइन् । ‘कुनै कुनै विशेष अवसरमा उहाँ राति लेखपढ गर्नुहुन्छ । खास गरी कुनै दस्ताबेज तयार गर्नु छ वा निर्णय गर्नु छ भने राति लेखपढ गर्ने बानी छ,’ उनले भनिन्, ‘नत्र अन्य समयमा भने उहाँ अरू नै काम गर्नुहुन्छ ।’
ओलीको स्मरण शक्ति निकै बलियो रहेको राधिकाले बताइन् । एक पटक पढेको विषय वा एक पटक थाहा पाएको कुरा उहाँ बिर्सनुहुन्न । म चाहिँ बिर्सिहाल्छु । काठमाडौँबाट पूर्व हवाईजहाजमा जाँदा उहाँले धेरै वटा हिमाल चिनाउनुहुन्छ । उहाँलाई धेरैजसो हिमालका नाम र विशेषता पनि थाहा छ । मलाई पनि सयौंपटक चिनाउनुभयो होला । तर म सगरमाथा, गौरीशङ्कर र कञ्चनजङ्घा मात्रै चिन्छु,’ उनले भनिन् ।
केपी ओली र आफूबिच धेरै कुरामा समान धारणा रहेको उनले बताइन् । ‘उहाँ र म बिच जीवन र देशलाई हेर्ने दृष्टिकोण समान छ,’ उनले भनिन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर