सिन्धुली बहुमुखी क्याम्पस स्ववियु निर्वाचन: अध्यक्षमा यी ३ उम्मेदवार प्रतिस्पर्धा गर्दै

सिन्धुली । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सिन्धुलीको सबैभन्दा ठुलो र  पुरानो सिन्धुली बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) अध्यक्षको लागि तीन जनाले प्रतिस्पर्धा गर्दै छन् ।

सिन्धुली सदरमुकामको ढुंग्रेवासमा सञ्चालित सिन्धुली बहुमुखी क्याम्पसमा यही चैत्र ९ गते शनिवार स्ववियु निर्वाचन हुँदै छ । क्याम्पस स्ववियु अध्यक्षको लागि  नेकपा (एमाले) निकट अनेरास्ववियुका र माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले गठबन्धन गरेर अनेरास्ववियुका तुलसीराम भुजेललाई उम्मेदवार बनाएको छ । भने नेविसंघले कांग्रेस जिल्ला सभापतिका विश्वास पात्र मानिने समीर विक्रम थापालाई उम्मेदवार बनाएको छ । त्यसै गरी अखिल क्रान्तिकारीका विनोद कुमार कार्कीले संगठनले अनेरास्ववियुसंग गठबन्धन गरेर आफूलाई टिकट नदिएको भन्दै, बागी (स्वतन्त्र) उम्मेदवारी दिएका छन् ।

अनेरास्ववियु र अखिल क्रान्तिकारीको गठबन्धनबाट उम्मेदवार बनेका भुजेल विद्यार्थी र प्राध्यापकहरू माझ निकै लोकप्रिय रहेका छन् । उनी बहुमुखी क्याम्पसको निवर्तमान स्ववियु कोषाध्यक्ष पनि हुन् । गठबन्धनमा अखिल क्रान्तिकारीबाट सचिव विष्णु पाण्डे र  कोषाध्यक्ष विमला सिंजाली रहेका छन् ।

नेविसंघ समीर विक्रम थापाको नेतृत्वमा एकल चुनावमा होमिएको छ । बहुमुखी क्याम्पसमा क्रियाशील र लोकप्रिय विद्यार्थी नेताहरू कृष्ण लामिछाने, स्वस्तिका बख्रेल र राजीव थापा लगायतलाई पाखा लगाएर कांग्रेस सभापतिको आशीर्वादमा  टिकट हत्याएका थापाको प्यानलमा केशव घिमिरे सचिव र सजिना श्रेष्ठ कोषाध्यक्ष रहेकी छिन् ।

अध्यक्ष, सचिव, कोषाध्यक्ष र केही सदस्य प्रत्यक्ष तथा उपाध्यक्ष, सहसचिव लगायत केही सदस्य समानुपातिक निर्वाचन प्रणालीअनुसार निर्वाचित हुनेछन् ।

निर्वाचन निर्देशिकामा क्याम्पसमा रहेका विद्यार्थी सङ्ख्याका आधारमा स्ववियु कार्यसमिति निर्वाचित हुने व्यवस्था छ ।  १९  सदस्यीय स्ववियु कार्यसमिति रहनेछ । स्ववियु कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ ।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर