सिन्धुलीमा बागमती प्रदेश स्तरीय महिला कृषि उद्यम मेला हुने

सिन्धुली । अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रम आयोजना गरेर मनाइँदै छ । विश्व महिला आन्दोलनको आधुनिक अभियान सन् १९१० मार्च ८ तारिखबाट सुरु भएसँगै हरेक वर्ष श्रमिक महिलाका अधिकार स्थापित गर्ने उद्देश्यसहित अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै आइएको छन् ।
महिला हक, अधिकार, सशक्तीकरण एवं लैङ्गिक समानताका लागि आवाज उठाउँदै विश्वभरि एक शताब्दीभन्दा बढी समयदेखि आजकै दिनलाई महिलाका लागि विशेष दिनका रूपमा मनाइँदै आइएको छ । सन् १९०८ मार्चमा १५ हजार महिलाले न्यूयोर्क सिटीमा काम गर्ने समय थोरै हुनुपर्ने, राम्रो ज्याला दिनुपर्ने र मतदानको अधिकार हुनुपर्ने मागसहित र्याली गरेसँगै यसको बीजारोपण भएको थियो । यसको एक वर्षपछि अमेरिकाको समाजवादी पार्टीले पहिलो राष्ट्रिय महिला दिवस घोषणा गरेको थियो ।
नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९१० मा अन्तर्राष्ट्रिय महिला दिवस सुरुआत गर्नुपर्नेमा सुझाएकी थिइन् । पहिलो पटक सन् १९११ मा अन्तर्राष्ट्रिय महिला दिवस अस्ट्रिया, जर्मनी, डेनमार्क र स्विट्जरल्याण्डमा मनाइएको थियो । तर संयुक्त राष्ट्रसङ्घले सन् १९७५ मा यो दिवस मनाउन थालेपछि यसले आधिकारिक मान्यता पाएको थियो ।
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर सिन्धुलीमा यस वर्ष बागमती प्रदेश स्तरीय महिला कृषि उद्यम मेला हुने भएको छ ।
सौगात लघु उद्यम सहकारी संस्था लिमिटेडले सिन्धुलीमाढीमा पत्रकार सम्मेलन गरेर ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) को अवसरमा फागुन २३-२५ गतेसम्म महिला कृषि उद्यम मेला सञ्चालन हुने जनाएको छ।
सौगात लघु उद्यम सहकारी संस्था, सिन्धुलीको अगुवाइमा सञ्चालन हुने मेलामा जिल्लाका नौ वटै पालिकाका प्रमुख तथा उद्यमीहरूदेखि बागमती प्रदेशका मन्त्रीहरू र बागमती प्रदेशका १३ वटै जिल्लाका महिला उद्यमीहरूको सहभागिता रहने आयोजकले जनाएको छ ।
मेला व्यवस्थापन समितिका संयोजक विमला थापाले महिला उद्यमीहरूलाई आफ्नो व्यवसाय विस्तार गर्न यस मेलाले थप प्रेरित गर्ने बताइन् । उद्यम मेलाले महिलाहरूलाई हरेक क्षेत्रमा सशक्त बनाउन टेवा पुग्ने उनको भनाई छ ।
मेलामा कम्तीमा ३६ वटा उद्यमसँग सम्बन्धित स्टलहरू रहनेछन्, जसमा ५० जनाभन्दा बढी महिला उद्यमीहरूले उत्पादन गरेका कृषिजन्य तथा हस्तकला सामग्रीको प्रदर्शनी तथा बिक्री गरिनेछ ।
साथै, योगाभ्यास, बालबालिकाहरूका लागि मनोरञ्जनात्मक गतिविधिहरू, विभिन्न प्रतियोगिता, विद्यार्थीहरूको कृषिसँग सम्बन्धित चित्रकला प्रतियोगिता, रैथाने खाना, प्रविधि र सीपको प्रस्तुति, नवप्रवर्तन प्रदर्शनी, सांस्कृतिक कार्यक्रम, महिलालाई उद्यममा अवसर र चुनौती विषयक छलफल, महिला नेतृत्व र उद्यमशीलता सम्बन्धी विभिन्न कार्यक्रमसमेत मेलाका मुख्य आकर्षण हुनेछन् ।
आयोजकले मेलामा १० हजारभन्दा बढी अवलोकनकर्ताको सहभागी गराउने लक्ष्य राखेको छ । उद्यमी, किसान, व्यवसायी, विद्यार्थी, सरकारी तथा गैरसरकारी प्रतिनिधिहरूको उत्साहजनक उपस्थिति रहने बताइएको छ ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया