सरकार ढल्छ भनी गरिएका प्रचार हल्ला मात्रै हो: भट्टराई

दोलखा । नेकपा एमालेका सचिव योगेश भट्टराईले सरकार ढल्छ भनी गरिएका प्रचार हल्ला मात्रै रहेको बताएका छन् ।
बुधवार दोलखाको चरिकोटमा प्रेस चौतारी नेपाल दोलखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सचिव भट्टराईले सरकार ढल्छ भनी गरिएका प्रचार हल्ला मात्रै भएको बताएका हुन् । देशमा भएको राजनैतिक अस्थिरताको अन्त्य गरी सुशासन र पारदर्शितासँगै दिगो विकासका उद्देश्यले दुई ठुला दल मिलेर यो सरकार बनेको बताउँदै भट्टराईले २०८४ को चुनावसम्म कांग्रेस र एमालेको सरकार चल्ने पनि बताए ।
अहिले सरकारले ल्याएको अध्यादेश संसद् छलेर ल्याइयो भन्ने कुरामा पनि कुनै सत्यता नरहेको भट्टराईले बताए । एउटा अधिवेशन समाप्त भएको ६ महिना भित्र अर्को अधिवेशन बोलाउनु पर्ने कानुनी प्रावधान भएको बताउँदै भट्टराईले त्यसको लागि अझै एक डेढ महिना समय बाँकी रहेको उहाँले स्पष्ट पारे । संसद् बस्ने बित्तिकै अध्यादेश संसद्मा जाने भएकाले सरकारले संसद् छल्न नसक्ने भट्टराईको भनाइ छ ।
नेपालका कतिपय कानुनहरू निक्कै पुराना भएका र कतिपय कानुन एक अर्कासँग बाझिने खालका भएका कारण त्यसलाई सहज बनाउन सरकारले अध्यादेश ल्याएको भट्टराईले स्पष्ट पारे । देशमा लगानीमैत्री वातावरण बनाउन तथा नागरिकलाई सहज सेवा प्रवाह गर्न ती अध्यादेशहरू ल्याइएको भट्टराईले बताए ।
सरकारले ६ महिनामा कति काम गर्यो गरेन भन्ने कुरा आम नागरिकले समीक्षा गरिरहेका बताउँदै भट्टराईले एमालेले सरकारको नेतृत्व लिँदा देश निक्कै सङ्कटको अवस्थामा रहेको कुरा बिर्सन नहुने जिकिर गरे । अर्थतन्त्रलाई लयमा ल्याउन, विश्व समुदाय समक्ष आत्मसम्मानको साथ नेपालको पहिचान स्थापित गर्न, देश भित्रको एकता सुदृढ गर्न, नागरिकमा आत्मविश्वास बढाउन र लोकतन्त्रलाई सुदृढ बनाउन सात बुँदे सहमतिका आधारमा नेपाली कांग्रेस र एमालेको संयुक्त सरकार बनेको उनले बताए । ‘अहिलेको सरकार त्यो सात बुँद सहमति प्रति प्रतिबद्ध छ, त्यसलाई नै अहिलेको कमको मार्गदर्शन मान्दै अघि बढेको छ’, उनले भने ।
विगतका सरकारले कायम गरेको दायित्व भुक्तानी गर्ने काम अहिलेको सरकारले गर्नुपरेको कारण सरकारले विकास निर्माणका काम जुन रूपमा अघि बढाउनु पर्ने हो त्यस हिसाबले गर्न नसकेको भट्टराईको भनाइ छ । अहिले वैदेशिक मुद्राको सञ्चिति पनि पर्याप्त भएकोले आत्तिनु पर्ने अवस्था नरहेको उहाँले बताए । आर्थिक वृद्धिदर पनि चार प्रतिशत माथि नै हुने स्थिति बन्दै गएकोले देशको समृद्धिको अवस्था आसलाग्दो भएको उनले प्रष्ट पारे ।
भट्टराईले नेपाल र चीन बिच भएको बिआरआई सम्झौताले नेपालको समृद्धिमा टेवा पुग्ने बताए । बिआरआई परियोजना कार्यान्वयनको लागि सरकार एकताबद्ध भएर लागेको स्पष्ट पारे ।
सरकारको स्थायित्व नहुँदा विकास र समृद्धिमा असर परेको बताउँदै सरकारको स्थायित्वको लागि उपयुक्त विकल्प सहित सबै दल मिलेर संविधान संशोधन गर्ने उनले बताए । स्थानीय तहको सङ्ख्या बढी भएको कारण प्रशासनिक खर्च बढेको र योग्य नेतृत्व नहुँदा समस्या देखिएकोले स्थानीय तह घटाई वडालाई अधिकार सहित व्यवस्थित गर्नु पर्ने बनाउनु उनको धारणा छ ।
प्रेस चौतारी नेपाल दोलखाका अध्यक्ष प्रभु जिरेलको अध्यक्षतामा भएको सम्मेलनमा जिल्लास्थित सञ्चारकर्मी तथा एमाले नेताहरूको सहभागिता थियो ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया