मानव तस्करीमा मुछिएका अधिकारीलाई एमालेले गर्यो निलम्बन

विराटनगर । मानव तस्करीको गम्भीर आरोप लागेका कोशी प्रदेशका तत्कालीन आन्तरिक मामिला मन्त्री लिलाबल्लभ अधिकारीलाई नेकपा एमालेले कारबाही गरेको छ।
पार्टीका कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै अधिकारीलाई लागेको आरोप निरुपण नभएसम्मका लागि पार्टीका कुनै पनि तहमा रहन नपाउने गरी कारबाही गरिएको हो।
उनलाई राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद सदस्य र पार्टीको संगठित सदस्यताबाट समेत निलम्बन गरिएको विज्ञप्तिमा उल्लेख छ।
एमालेले अधिकारीको भ्रमणसँग जोडिएर लागेको मानव तस्करीजस्तो गम्भीर आरोपका सम्बन्धमा शीघ्र छानबिन तथा गहिरो अनुसन्धान गरी सत्य तथ्य सार्वजनिक गर्न पनि सरकारसँग माग गरेको छ।
मन्त्रालयसँग सम्बन्धित नभएका व्यक्ति नक्कली परिचयपत्र सहित जापान लिएर गएपछि जापानको अध्यागमनले अधिकारीसहित चारै जनालाई ४८ घण्टा विमानस्थलमै रोकेर फर्काइदिएको थियो। नेपाल आइसकेपछि अधिकारीसँगै जापान गएका तीन जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ भने अधिकारी अनुसन्धानमा तानिएका छैनन्।
उनले आफूलाई मानव तस्कर गिरोहले प्रयोग गरेको र आफैंले यो विषय प्रहरीलाई सूचना दिई अनुसन्धान गर्न लगाएको बताउँदै आएका छन्। उनी संघीय सरकारबाट भ्रमण स्वीकृत नगराइ विदेश गएकाले पनि उनको भ्रमणलाई शङ्कास्पद मानिएको छ।
आरोप लागेसँगै उनले मन्त्री पदबाट भने राजीनामा दिइसकेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।