छठको मुख्य दिनः आज अस्ताउँदो सूर्यलाई अर्घ दिइने

आज छठ पर्वको तेस्रो दिन, सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदै छ । विधिवत् रूपमा चार दिनसम्म मनाइने छठ पर्वको तेस्रो दिन अर्थात् मुख्य दिन आज साँझ तराई–मधेसको जलाशयमा अस्ताउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व मनाइँदै छ ।
छठ पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइन्छ । छठका व्रतालुले कात्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् ।
छठको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यको पूजा आरधना गरी अर्घ दिइँदै छ । भोलि उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ विधिवत् रूपमा सम्पन्न हुन्छ ।
सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराई बासीको महान् चाड छठ पर्व मङ्गलवारबाट विधिवत् रूपमा सुरु भएको हो । छठको मुख्य विधि अन्तर्गत पहिलो दिन अरबा–अरबाइन गरिन्छ जसलाई नहायखाय पनि भन्ने गरिएको छ । दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिने विधि गरिन्छ ।
सोही अनुसार पर्वको पहिलो दिन मङ्गलवार व्रतालु महिला र पुरुषहरूले नहाय खाय अर्थात् नुहाएर खाएका थिए । त्यस्तै पर्वको दोस्रो दिन बुधवार खर्ना मनाएका थिए ।
खर्नाका दिन व्रतालु महिला र पुरुषहरूले दिनभरि उपवास बसेर साँझ दूध, चामल र सख्खर हालेर पकाइएको खिर, केरालगायत विभिन्न फलफूल तथा मिठाइ सजाएर छठ देवतालाई आगमनको निम्तो दिँदै कुल देवताको पूजा गरिसकेपछि व्रतालुसहित घरपरिवारका सबै सदस्य त्यही सामग्री प्रसादका रूपमा ग्रहण गरेका थिए ।
पर्वको तेस्रो दिन अर्थात् मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व धुमधामका साथ मनाइँदै छ । यस पर्वमा सूर्यको उपासनाले सन्तान, निरोगिता, सुख, समृद्धि र चर्म रोग निको हुने जनविश्वास छ । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो जसमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ ।

माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर