सिन्धुलीमा ‘क्रप कटिङ’ गरी धान उत्पादन अनुमान गरिँदै

सिन्धुली । यहाँ लगाइएको बर्खे धानको उत्पादन र उत्पादकत्व अनुमान तथा तथ्याङ्क लिन क्रप कटिङ (बाली कटानी) सुरु गरिएको छ ।

कृषि विकास कार्यालय सिन्धुलीले विभिन्न स्थानमा लगाइएको धानको उत्पादन अनुमान गर्न क्रप कटिङ सुरु गरेको हो । सिन्धुलीको दुधौली नगरपालिका, हरिहरपुरगढी गाउँपालिका तथा कमालामाई नगरपालिकामा क्रप कटिङ भइरहेको कार्यालय प्रमुख अरूण खनालले जानकारी दिए ।

धानको प्रत्येक ५ वर्गमिटर क्षेत्रफलमा क्रप कटिङ गरी उत्पादन अनुमान गरिने उनले बताए । खनालले भने, “यसवर्ष हामीले समग्र जिल्लामा गत वर्षको भन्दा बढी धान उत्पादन हुने अनुमान गरेका छौँ ।” एक कृषकको खेतमा ४ ठाउँबाट नमुना लिएर आंकडा निकाल्ने काम भइरहेको छ ।

उनले बाढी पहिरोको कारण अनुमानभन्दा केही उत्पादन घटे पनि धेरै घाटा भने नहुने अपेक्षा रहेको बताए । “प्रतिहेक्टर चार मेट्रिक टन अलि पुगेको छैन तर औसतमा प्रतिहेक्टर चार मेट्रिक टनकै हाराहीमा उत्पादन अनुमान गर्न सकिन्छ”, कार्यालय प्रमुख खनालले भने  “ हरिहरपुरगढी,सुनकोसी र गोलन्जोर गाउँपालिकामा बागमती, रोशी र सुनकोशीमा आएको बाढीका कारण  केही उत्पादन घटेको हामीले पाएका छौँ । सबै स्थानमा क्रप कटिङ गरी तथ्याङ्क लिएपछि उत्पादनबारे थाहा हुनेछ । ”

कार्यालयका अनुसार जिल्लामा यसवर्ष १३ हजार ४ सय ४५ हेक्टर क्षेत्रफलमा चैते तथा बर्खे धान लगाइएको छ । यहाँ सावित्री, रामधान, रन्जित, मकवानपुर-१, सावा मन्सुली, चैते-१/२, हर्दीनाथ ६, बहुगुणी १ र २, लगायत हाइब्रिड प्रजातिका धान लगाइएको छ ।

गत आर्थिक वर्ष १२ हजार ४ सय ४८ हेक्टर क्षेत्रफलमा धानखेती गरिएकामा ४२ हजार ८ सय ९९ मेट्रिक टन उत्पादन भएको थियो । तीनपाटन, फिक्कल,घ्याङलेख, गोलन्जोर र सुनकोशी गाउँपालिकाहरू आफैले क्रप कटिङ गरेर उत्पाद अनुमान गर्ने कृषि बिकास कार्यालयले जनाएको छ ।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर