शिक्षकलाई काजमा राख्ने हरिहरपुरगढी गाउँपालिकालाई अदालतको कारण देखाउ आदेश !

सिन्धुली । उच्च अदालत पाटनले सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले शिक्षकलाई काजमा गाउँपालिकामा नै राखी काम लगाएको भन्दै कारण देखाई १५ दिन भित्र लिखित जवाफ सहित उपस्थित हुन आदेश दिएको छ ।
हरिहरपुरगढी गाउँपालिकाले कालिका प्रावि सिमरासमा कार्यरत राहत शिक्षक पदमा कार्यरत प्राथमिक तहका शिक्षक यम कुमार आछामीलाई अधिकृत पदमा र भानुभक्त आधारभूत विद्यालय तिनकुनामा प्राथमिक तहमा कार्यरत शिक्षक प्रेम वि.क. लाई सहायक अधिकृत पद सिर्जना गरि गाउँपालिकाको कार्यालयमा काम गर्नका लागि काजमा लगाएको शिक्षा ऐन, २०२८ को दफा १६ च २. विपरीतको कार्य गरेको भन्दै अभिभावक निरबहादुर वाइवाले उच्च अदालत पाटनमा रिट निवेदन दर्ता गराएका थिए । हरिहरपुरगढी गाउँपालिका वडा नं. ५ का बासिन्दा वाइवाले हरिहरपुरगढी गाउँपालिकालाई विपक्षी बनाई दर्ता गराएको रिटको सुनुवाई गर्दै अदालतका न्यायधिश टीकाराम आचार्यले यस्तो आदेश दिएका हुन् ।
रिटको सुनुवाईका क्रममा बहस गर्नु भएका अधिबक्ता लोकहरि आचार्यले गाउँपालिकाले शिक्षकद्वय आछामी र विकलाई शिक्षा ऐन, २०२८ को दफा १६च२. र शिक्षा नियमावली, २०५९ को नियम १३३(१) को खण्ड (ज) तथा शिक्षा तथा मानव स्रोत विकास केन्द्रको मिति २०८१।०१।२८ को पत्रको विपरीत हुने गरि काजमा काम गराएको पाइएको बताए । शिक्षा ऐनमा सामुदायिक विद्यालयका शिक्षकले व्यवस्थापन समिति र शिक्षा विकास तथा समन्वय इकाइ प्रमुखको स्वीकृति नलिई आफू कार्यरत रहेको विद्यालय बाहिर कामकाज गर्न नहुने र शिक्षकलाई शिक्षण कार्य भन्दा अन्यत्र काजमा लगि काम लगाउन नपाउने व्यवस्था कानूनमा रहेको छ ।
यस्तै गाउँपालिकाले कार्यालयमा काजमा ल्याई काम लगाइरहेका शिक्षकद्बय जेष्ठता र तहगत ओहदामा समेत कनिष्ठ भएकाले अन्य बरिष्ठ पदमा कार्यरत शिक्षकहरुको मनोबल समेत गिराउने काम गाउँपालिकाले गरेको भन्दै शिक्षकहरुको संगठनले विरोध समेत जनाएका थिए । रिट निवेदकले गाउँपालिका सहित गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत, हरिहरपुरगढी गाउँपालिका शिक्षा समिति, शिक्षक द्वय यम कुमार अछामी र प्रेम वि.क लाई विपक्षी बनाइएका छन् ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया