जुनारमा सुँडे पुतलीको प्रकोप बढेपछि प्रोत्साहन दिँदै गोलन्जोर गाउँपालिका
पुतलीको टाउकाको मूल्य तोक्यो!

सिन्धुली । जुनारको राजधानी भनेर परिचय स्थापित गरेको सिन्धुलीको गोलन्जोर गाउँपालिकाले जुनार को फल चुस्ने सुँडे मोथ पुतलीबाट जोगाइ क्षति न्यूनीकरणो लागि नयाँ विधि अपनाएको छ । पुतलीबाट क्षति हुने दरले प्रकोपकै रूप लिएपछि पालिकाले पुतली समात्ने र मार्ने उपाय निकालेको हो । १५ भाद्रमा गोलन्जोर ५ खनियाखर्कमा सुँडे मोथ पुतली रोकथाम तथा नियन्त्रण सम्बन्धी कृषक र वैज्ञानिक बिच अन्तरक्रिया कार्यक्रमबाट यस्तो निष्कर्ष निकालिएको हो ।
गाउँपालिकाले जुनार/सुन्तलामा हुने क्षति न्यूनीकरणको लागि सूचना नै प्रकाशन गरी सुँडे मोथ पुतली समातेर मारेर सम्बन्धित वडा कार्यालयमा बुझाए प्रति पुतली २ रुपियाँ प्रोत्साहन दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त चौधरीले जानकारी दिए । पालिकाको २० भाद्रमा भएको कार्यपालिका निर्णय अनुसार सूचना प्रकाशन गरिएको चौधरीले जानकारी दिए ।
– १५ भाद्रमा सुँडे मोथ पुतली न्यूनीकरण तथा रोकथामको लागि तत्कालीन र दीर्घकालीन विभिन्न उपायहरूको बारेमा छलफल भयो, तत्काल समात्ने र मार्ने कार्य उत्तम हुने भएको देखिएकोले यो निर्णय भयो”–प्रमुख प्रशासकीय अधिकृत चौधरीले भने ।
सिन्धुलीमा रहेका ९ वटा स्थानीय तहहरू मध्ये सबैभन्दा धेरै जुनार खेती हुने क्षेत्रफल र कृषकको संख्या गोलन्जोर गाउँपालिकामा रहेको छ । जुनार खेतीबाट कृषकहरूलाई राम्रो आम्दानी हुने भए पनि बेलाबखत विभिन्न रोग किराले सताइरहेको छ ।
गतवर्ष जुनारमा लाग्ने सुँडे मोथ पुतलीले जुनार फलको रस चुसेर करिब डेढ – दुई करोडको क्षति भएको कृषकहरूको भनाइ उद्धृत गर्दै कृषि शाखा प्रमुख सरोज दाहालले भने- “यस वर्ष सुँडे मोथ पुतली अझ बढी प्रकोपको रूपमा देखिएकोले यो उपाय कार्यान्वयनमा ल्याइएको
हो । ”
सूचना !
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया