पुकारले ‘पानीराज’माथि लगाएको आरोप निराधार हो: इन्चार्ज माझी

सिन्धुली। नेकपा माओवादी केन्द्रका सिन्धुली जिल्ला इन्चार्ज बुद्धिमान माझी ‘बसन्त’ ले पानीराज बम्जनमाथि लगाइएको आरोप निराधार रहेको दाबी गरेका छन् ।
माओवादीको केन्द्रीय सदस्य समेत रहेका माझीले माओवादी केन्द्र सिन्धुलीका जिल्ला संयोजक पानीराज बम्जनमाथि माओवादी नेता ज्वाला प्रसाद न्यौपाने ‘पुकार’ले लगाएको आरोप निराधार रहेको बताए ।
शुक्रवार एक प्रेस विज्ञप्ति जारी गर्दै उने भने, ‘हाम्रै पार्टीको बागमती प्रदेश कमिटी सदस्य ज्याला प्रसाद न्यौपाने (पुकार) ले आफ्नो फेसबुकबाट सिन्धुली जिल्ला पार्टी संयोजक पानीराज बम्जनको नाम जोडी तथ्यहीन, भ्रामक, कपोकल्पित, दुष्प्रचार गर्ने मनसाय बोकी विभिन्न लाञ्छना र आरोप लगाई सामाजिक सञ्जाल मार्फत जनतामा भ्रम छर्दै चरित्रहत्या गरेका छन् ।
बम्जनलाई जिल्ला नेतृत्व त्याग गरेर मार्ग प्रशस्त गर्न न्यौपानेले निरन्तर सामाजिक सञ्जाल मार्फत अनावश्यक दबाब सिर्जना गर्ने जुन प्रयत्न गरिएको छ सो कुरा पार्टी विधान विपरीत रहेको जानकारी गराउन चाहन्छौँ । विज्ञप्तिमा भनिएको छ।
कपोकल्पित, तथ्यहीन र भ्रामक सूचना सम्प्रेषण नगर्न र नगराउनुहुन ज्वाला प्रसाद न्यौपाने (पुकार) लाई सचेत गरिएको विज्ञप्तिमा उल्लेख छ। साथै अनावश्यक तथ्यहीन भ्रामक आरोपको पछि नलाग्नुहुन सिङ्गो पार्टी पंक्ति, शुभचिन्तक, समर्थक र आम न्याय प्रेमी जनसमुदायहरूमा आग्रह गरिएको छ।
गोलन्जोर गाउँपालिकाका निर्वाचित उपाध्यक्ष समेत रहेका न्यौपानेले बुधवार मध्यराती आफ्नो सामाजिक सञ्जालबाट जिल्ला संयोजक पानीराज बम्जनलाई लक्षित गरेर “ कमरेड, राते !!! तिम्रो हत्या गर्ने तिम्रो सुराकी मेरो नेता छ माफ गर !!! लेखेका थिए ।

पार्टी कार्यकर्तासँगको कमेन्ट सवाल जवाफमा उनले तोकेरै पानीराज बम्जन हत्यारा हो भनेर लेखेपछि माओवादी वृत्तमा हल्लाखल्ला भएको थियो । न्यौपाने उक्त कमेन्ट डिलिट गरे पनि पोष्ट शुक्रवार बिहान सम्म कायम थियो । त्यहाँ पाटी नेताहरूलाई आलोचना गरेर कमेन्ट दोहोरी चलेको थियो । इन्चार्ज माझीको विज्ञप्ति पछि उनले फेस्बुक पोष्ट पनि डिलिट गरेका छन् ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया