लुटको स्वर्गलाई भत्काउने सफल प्रशासक !
जसले दुई थान एसपीको सरूवा गराए र तस्करीमाथि धावा बोले

लुई चौधौंले मनैं राज्य हुँ भनेर राज्य र जनतामाथि शोषण गरे । लुई पन्ध्रौंले म मरेपछि प्रलय होस् भनेर देश र जनताप्रति अनास्था र गैरजिम्मेवारीको हुंकार गरे । मार्कोस, सुहार्तो र डुभ्यालियर जस्ता शासकहरुले राष्ट्रको ढुकुटीमा डकैत गरेर देश र जनतालाई हरिकंगाल बनाए ।
लोकतन्त्र, गणतन्त्र र गाउँगाउँमा सिंहदरवार ल्याएको सुगा रटान गर्ने हाम्रामन्त्री र माननीयहरुले हाम्रागाउँ र सहरका विकास निर्माणमा कसरी आँखा लगाइरहेका छन् र उनीहरु शासन सत्ताको बाहुवलीमा शुन्दर शान्त नेपाललाई खोक्रो बनाइरहेका छन् भन्ने तथ्यहरुको फेरिहस्त हाम्रा सामू छर्लङ्ग छ ।
सरकार र नागरिकहरु बीचको असल सम्बन्धको राजनैतिक मार्ग हो सुशासन । यसका लागि राज्यले अबलम्मन गरेका प्रक्रिया, प्रणाली र विद्यमान संरचनाहरुद्धारा नागरिकहरुसँग सरकारले प्रवाहगर्ने कामहरुको सरकारात्मक कामहरुबाट नागरिकले खुशी र भलाईको अनुभूति गर्छन् भने त्यहाँ सुशासन कायम भएको मान्नु पर्छ ।
जहाँ नागरिकहरुलाई प्रजाका रुपमा शाशित गरेर उनीहरुका खुशी, सम्मान, आवाज र अधिकार खोसेर बलद्धारा व्यक्तिगत स्वार्थकालागि शासन सत्ताको दुरुपयोग गरेकामन्त्री र सांसदहरु समाजमा आफू बलशाली भएको डिङ हाँकिरहेका छन् ।
सरकार, निजी क्षेत्र, राजनैतिक दल, नागरिक समाज र राज्यको चौथो अङ्गको पगरी गुथेको सञ्चार क्षेत्रको अहम भूमिकाले केन्द्र र जिल्ला तहमा सुशासन निर्धारण गरिरहेको हुन्छ ।
संगठित अपराधिक सिन्डिकेट र शक्तिशाली व्यापारिक घरानाहरुले माथि उल्लेखित सबै क्षेत्रका प्रतिष्ठितहरुलाई आफ्नो कब्जामा लिएर अवैध कामहरु सञ्चालन गरिरेहका तथ्यहरु पटक पटक सार्वजनिकहुँदै आएका छन् । केन्द्र देखि जिल्ला तहमा हुने यस्ता अपराधिक क्रियाकलापमा नियमनकारी निकायनैं संलग्न हुने बिबरणहरुले आम नागरिकमा मौजुदा शासन व्यवस्था प्रतिनैं नकारात्मक भाव पैदा गराईरहेको छ ।
सिंगापुरका लिक्वान युले ‘फ्रम थर्ड वल्र्ड टू फस्ट वल्र्ड’ पूस्तकमा स्वतन्त्रापछि स्वाधिन भएर बाँच्न निकै ठूलो संघर्ष मात्रै गरेनन्, उनले अनुकूलतालाई प्रतिकुलतामा बदलेर देखाई दिए । नेपालमा पुष्पलाल, विशेश्वर, मनमोहन, मदन, कृष्णप्रसाद लोकप्रिय नेताहरु थिए । उनीहरुको निजी स्वार्थ थिएन । राजा महेन्द्रले कहिल्यै राष्ट्रघात गरेनन् र त शिकार खेल्न गएका बेला मारिए । मदन–आश्रितले महेन्द्रकै बाटो पछ्याएकाले अहिले नेकपा एमाले त्यही जगमा उभिएर जनताको बहुदलीय जनवादको जगमा आफूलाई उभ्याइरहेको छ । नेपाली कांग्रेसले विपीको आदर्शलाई छोड्दा अहिले अनुयायीहरु कुहिरोको मागझैं अलमलिई रहेकाछन् ।
तानाशाह र सर्वसत्तावादीको निकै लामो सूचि तयार हुन सक्छ । जसले मानव समाजको विकाशक्रमलाईनैं उल्टो गतिमा हिंडाउने प्रयाश गरिरहेका छन् । तर उनीहरु आफूलाई अझैं पनि जनपक्षीय भनेर समाजमा ढोल पिटाइरहेका छन् तर आफू स्वयमं आम नागरिक र समुदायमा दुर्गन्धित भइसकेको बारे बेखबर बनिरहेका छन् । नेपाली राजनीतिका यस्ता खलपात्र र प्रशासकहरुको भूमिका सकारात्मक नहुँदा समग्र विकासका आयामहरुनैं अबरुद्ध पारिएका वा आफ्नो स्वार्थ अनुसार सञ्चालनमा आउने गरेका छन् ।
सत्ता राजनीतिका यस्ता राम्रा पात्र छन् र उनीहरुले अगाडि बढाएका रुपान्तरणकारी कामहरुलाई कार्यान्वयनगर्ने साहस भएका प्रशासकहरु पनि छन् जसले व्यवस्था प्रतिनैं नकारात्मक धारणा बनिरहेका बेला आम जनमानसमा सकारात्मक उर्जा प्रदान गर्न सक्छन् । र उनलाई तिनै नागरिकले निरन्तर संझन्छन् पनि ।
झण्डै एक वर्ष अगाडि सिन्धुलीमा आएका प्रमुख जिल्लाअधिकारी भरत खनाल त्यही पात्र हुन्, जो जिल्ला छोडेर जाँदा रित्तो हात फर्किए । यो सुन्दा धेरैलाई अनौठो पनि लाग्न सक्छ । समग्र जिल्लाको शान्ति सुरक्षा कायम राख्न र केन्द्र सरकारको प्रतिनिधीका रुपमा खटिएका प्रमुख जिल्ला अधिकारी खनालले सुन्दर सिन्धुलीको कुरुप दृश्यलाई यसरी आफ्नो आँखाले कैद गरे, अनि छर्लङ्ग देखे सिन्धुली विकास नहुनुका डरलाग्दा कारणहरु । उनले शान्त र सुन्दर सिन्धुलीभित्र राजनैतिक संरक्षणमा हुने तस्करीको जालोलाई केही समय त ब्रेक गरे । केहीथान नेता र माननीयहरु उनको सरुवाकालागि तत्कालिन गहृमन्त्री रवि लामिछाने समक्ष बिन्तिगर्न पुगे तर उनीहरुको कुरा कसैले सुनेनन् ।
उनको निवासमा तस्करहरु, ठेकेदाहरु आइफोन र हात्तीका पेटीहरु बोकेर पस्ने हिम्मत गरेनन् । संगठित तस्करी र अबैध कारोवारमा संलग्नभएकै कारण उनले आफ्नो बसाईमा दुई थान एसपीलाई सरुवा गराए । सिन्धुली जिल्लाकै इतिहासमा यो पहिलो घटना थियो । सुरक्षा समितिकै सदस्यहरु राजनैतिक सहकार्यमा संगठित तस्करीमा लाग्ने गरेको डरलाग्दो तथ्य दुई थानप्रहरी अधिकारीको सरुवाले सार्वजनिक गरिदियो । उनले लुटको स्वर्गमाथि धावा बोले । त्यही कारणले पनि सिन्धुलीका नागरिकले भनिरहेका छन्ः अहिलेसम्म खनाल जस्तो सिडिओ आएकै थिएनन् । एउटा असल प्रशासकले गरेका जनपक्षीय कामलाई केहीथान नेता र तस्करहरुद्धारा शासित सिन्धुलीका नागरिकले निरन्तर सम्झिरहने छन् । साभार: सन्देश जनप्रिय साप्ताहिकबाट
(लेखकः नेकपा एमाले बागमती प्रदेश प्रचार तथा प्रकाशन विभागका सचिव हुनुहुन्छ।)
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया