स्वास्थ्य बीमाः परिमार्जित विवरण, नयाँ दररेट कार्यान्वयन

स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत उपलब्ध गराउने सुविधा थैलीअन्तर्गतका सेवाको परिमार्जित विवरण र दर कार्यान्वयन गरेको छ ।

स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपलब्ध गराइने सुविधा थैलीअन्तर्गतका सेवा सुविधा लागू गरिएको बोर्डका जनस्वास्थ्य अधिकृत विकेश मल्लले जानकारी दिए ।

बोर्डले परिमार्जन गरेको सुविधा थैली गएको साउन १ गतेदेखि लागू गर्ने भने पनि तयारी नपुगेका कारण भदौ देखि लागू भएको हो ।

बोर्डले विज्ञहरूको सुझावअनुसार र बजारको अवस्थालाई हेरेर सुविधा थैलीको सेवा सुविधाको नयाँ दररेट कायम गरेको छ ।

नयाँ सुविधा थैलीमा स्वास्थ्य बीमा अन्तर्गत एक हजार दुई सय  ९० प्रकारका औषधि छन् । अस्पताल टिकट ५० रुपैयाँ तोकिएको छ । शय्याको प्रतिदिन दुई सय ५० रुपैयाँ राखिएको छ । यसअघि साधारण शय्याको दुई सय थियो ।

स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत पाँच जना परिवारसम्मका लागि तीन हजार पाँच सय रुपैयाँ बराबरको योगदानका आधारमा एक लाख रुपैयाँसम्मको स्वास्थ्य सेवा सुविधा उपलब्ध गराइन्छ । यस्तै थप प्रतिसदस्य सात सय रुपैयाँका दरले योगदान रकम थपिँदै जाने र प्रतिसदस्य २० हजार रुपैयाँ बराबरको सेवा सुविधा थपिने प्रावधान छ । स्वास्थ्य बीमा कार्यक्रमको अधिकतम सेवा सुविधाको सीमा दुई लाख रुपैयाँसम्म तोकिएको छ ।

बीमा कार्यक्रममा कुल बीमित परिवार सङ्ख्या २३ लाख ९२ हजार ६ सय ७६ जना र कुल बीमित जनसङ्ख्या ७७ लाख ४१ हजार चार सय ८३ जना रहेको बोर्डले जनाएको छ ।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर