सम्पूर्ण सेवा प्रविधिमैत्री बनाउँदै उद्योग मन्त्रालय

हेटौँडा । बागमती प्रदेशकी उद्योग, वाणिज्य भूमि तथा प्रशासन मन्त्री सुक माया तामाङले मन्त्रालयका सम्पूर्ण सेवाहरू प्रविधिमैत्री बनाउँदै लैजाने बताएकी छिन् ।

मन्त्रालयको पहिलो वार्षिकोत्सवको अवसरमा मन्त्रालयको सेवासम्बन्धी जानकारीमूलक डिजिटल डिस्प्ले उद्घाटन गर्दै उनले सो कुरा बताएकी हुन् ।

उनले मन्त्रालयको कार्य जिम्मेवारी अनुरूप सम्पादन गर्नुपर्ने कार्यहरूलाई आर्थिक अनुशासन कायम गर्दै सर्वसाधारणले पाउनुपर्ने सेवा सुबिधा छिटो, छरितो एवम् प्रभावकारी र कुशलतापूर्वक सञ्चालन गर्न उत्साहजनक सहभागिता र सहयोगका लागि उनले कर्मचारीको प्रशंसा गरिन् ।

व्यापार र उद्योगको क्षेत्रमा, व्यापार सम्बन्धि नीति, कार्यक्रम, कानुन, मापदण्ड, योजना तर्जुमा र कार्यान्वयनका लागि प्रचलित ऐन नियमको परिधिमा रही मन्त्रालय र अन्तर्गत कार्यालयहरूमा कार्यरत जनशक्तिबाट संरचनागत आधारमा विकास र वातावरणीय सन्तुलन कायम राखी प्रविधिमैत्री प्रदेश निर्माण गर्न उत्पादन र उत्पादकत्व बढाउन साना, मझौला, घरेलु, र लघु उद्योग स्थापना गर्न उद्यमीलाई उत्साहित गर्दै उद्यमशीलताबाट स्वरोजगार तथा रोजगारी सिर्जना गर्नेमा उनको विश्वास छ ।

उद्यमीहरूको क्षमता अभिवृद्धि गर्न उद्यम तालिम, उद्योग प्रवर्द्धन औद्योगिक बस्तुको निर्यात र औद्योगिक प्रदर्शनीहरू, उद्यमीलाई प्रविधि हस्तान्तरण गर्ने जस्ता कार्यक्रम सफलतापूर्वक अघि बढिरहेका छन्,’ उनले खनिज र भौगोलिक अध्ययन, खानी र खनिज पदार्थको अन्वेषण र व्यवस्थापनमा प्रादेशिक नीति, कानुन र मापदण्ड तर्जुमा र कार्यान्वयनमा सुरु गरेका कार्यहरूले सकारात्मक दिशा लिएको दाबी गरिन् ।

भौगोलिक अध्ययन, नक्सा व्यवस्थापन र भौगोलिक सूचना प्रणालीको समन्वयले मन्त्रालयका कामहरूलाई अझ प्रभावकारी बनाउने आशा गरेकी उनले उपभोक्ता संरक्षणका क्षेत्रमा पनि मूल्य र कालोबजारी नियन्त्रण, उपभोक्ता हक अधिकार संरक्षण, स्वदेशी उत्पादनमैत्री कार्यालय र उपभोक्ता अदालत गठन जस्ता पहलहरूलाई प्राथमिकता दिइएको बताइन् । ‘यी प्रयासहरूले उपभोक्ताको सन्तुष्टि र सुरक्षा सुनिश्चित गर्न हामी सफल हुनेछौँ भन्ने विश्वास छ,’ उनले भनिन् ।

भूमि व्यवस्थापन क्षेत्रमा, भूमि प्रशासन, नाप जाँच, भूमिसुधार, नदी उकास जमिन संरक्षण गरी व्यावसायिक प्रयोजनार्थ भूमिको निर्माण गर्ने र भू उपयोग नीति तथा मापदण्ड तर्जुमा र कार्यान्वयनलाई तीव्र रूपमा कार्यहरू अघि बढाएको जानकारी दिएकी उनले भूमि अभिलेख व्यवस्थापन, जग्गा दर्ता, र स्वामित्व हस्तान्तरण प्रक्रियामा सुधार ल्याउने प्रयासलाई कर्मचारीको सक्रियता र सहयोगले सफल बनाएको बताइन् । ‘भूमिहीन वर्गको बसोबास र पुन स्थापना कार्यक्रममा पनि हामीले ठोस कदम उठाउन सफल भएका छौँ,’ उनको कथन छ ।

पुस्तिकाले विगतका वर्षहरूका कार्यहरूको अभिलेखीकरण गर्नुका साथै मन्त्रालयका सबल पक्षलाई बढाउँदै कमीकमजोरी सुधार गरी आगामी दिनहरूमा अझ परिणाममुखी बनाइने उद्योग गरौँ, उद्यमी बनौँ र समृद्ध नेपाल बनाऔँ’ भन्ने मूल नारालाई मूर्तरूप दिने उनले बताइन् ।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

सम्बन्धित खबर