सिन्धुलीको जुनारमा देखिन थाले सुँडे पुतली 

सिन्धुली । सिन्धुलीको जुनार बगैँचाहरूमा चुसाहा पुतली किरा (सुँडे पुतली) को प्रकोप सुरु भएपछि किसान चिन्तित बनेका छन् ।

सिन्धुलीका केही जुनार बगैँचामा गत वर्ष झैँ यस वर्ष पनि फल छेड्ने र चुस्ने मोथ –  सुँडे पुतली देखा पर्न थालेका छन् । जिल्लाको गोलन्जोर गाउँपालिका-४ किराते,  गोलन्जोर गाउँपालिका -६ नाकाजोली‚धुसुनी, गाउँपालिका -५ रतनचुरा डाँडा र कमलामाई नगरपालिका ३ चपौलीका जुनार बगैँचामा सुँडे पुतली देखा पर्न थालेका हुन् ।

सिन्धुलीमा गत सालको तुलनामा यो वर्ष  छिट्टै सुँडे पुतली  देखिएको गोलन्जोर गाउँपालिका – ६ नाकाजोलीका जुनार कृषक ललित मगर बताउँछन् । गत वर्ष झैँ सुँडे किराले फल नै झारिदिने भएकाले जुनारमा धेरै नोक्सानी गर्न सक्ने मगरको भनाइ रहेको छ ।

सिन्धुलीमा गत वर्ष  जुनार बगैँचाहरूमा ११ प्रतिशत देखि ४५ प्रतिशतसम्म फलको रस चुसेर नष्ट भएको र अनुमानित २ करोड ५८ लाख रुपैयाँ बराबरको क्षति गरेको जुनार उत्पादक कृषि सहकारी संघ सिन्धुलीका अध्यक्ष निर्मल कुमार रम्तेलले माईशिरलाई बताए ।

ठाउँ-ठाउँमा देखा परे पनि यसले अहिलेसम्म कुनै क्षति नगरेको  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई सिन्धुलीका कृषि प्राविधिक जहान बहादुर कार्कीले जानकारी दिए ।

सुँडे पुतलीले साँझ ६-८  बजेसम्म फलको रस चुस्ने र बिहान पनि झिसमिसेमा आउँछ, उज्यालो हुनासाथ भाग्ने भएकाले सुँडे पुतलीलाई नियन्त्रणमा लिन नसकिएको कृषि प्राविधिक कार्की बताउँछन् । सुँडे पुतलीको प्रकोप गत वर्ष भन्दा पहिले नै फैलिन सुरु गरेको छ । कार्की भन्छन्‚ ‘यसको नियन्त्रणको लागि हामीले विभिन्न सञ्चारमाध्यमहरूबाट सूचना बजाउने र किसानले बगैँचामा धुवाँ लगाउने बाहेक कुनै उपाय छैन ।‚ जुनारमा गुलियो रस फस्न थालेपछि मात्र यसले क्षति गर्ने भएकाले अहिले खासै डराउनु पर्ने अवस्था नरहेको उनको भनाई छ ।

जुनार सुपरजोनको कार्य क्षेत्रमा गोलन्जोर गाउँपालिकाको वडा नम्बर १ देखि ६ नम्बरसम्म, कमलामाई नगरपालिकाको वडा नम्बर ३, सुनकोशी र तीनपाटन गाउँपालिकाको वडा नम्बर ७ पर्दछ । सिन्धुलीका दुई हजार दुई सय ६२ जना किसान जुनार सुपर जोन परियोजनामा आबद्ध रहेको छन् ।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

सम्बन्धित खबर