अपुताली जग्गा: नक्कली हकवाला बनाएर, वडा अध्यक्ष आफैले हत्याए

सिन्धुली। दुधौली नगरपालिकामा मान कुमारी गोतामेको नाममा रहेको जग्गा नक्कली हकवाला बनाएर पास गरी जग्गा वडा अध्यक्ष आफैले लिएको तथ्य सार्वजनिक भएको छ।

मान कुमारी गोतामेको नाममा रहेको जग्गा हुँदै नभएको नाता प्रमाणित गरेर नक्कली हकवाला कायम गरेर धन कुमारी पहाडीको नाममा ल्याएर जग्गा वडा अध्यक्ष आफैले खरिद गरेको खुलासा भएको हो। अपुतालीको जग्गा  दुधौली नगरपालिका-१ का नेपाली काङ्ग्रेसबाट निर्वाचित वडा अध्यक्ष जयबहादुर पौडेलले  लामो प्रयासपछि आफैले  हत्याउन सफल भएको स्रोतको दाबी छ।

२०८१  साल श्रावण  १५ अघिसम्म  १५ कट्ठा १६ घुर २ पाई  जग्गा मान कुमारी गोतामेको नाममा स्रेस्ता कायम थियो। २०४७ साल फागुन १३ गते उनको मृत्यु भयो। उनका श्रीमान् मानबहादुर गोतामेको २०३७ सालमा नै मृत्यु भइसकेको थियो। उनका हकवाला थिएनन्। तर वडा अध्यक्ष र बिचौलियाले सरकारका नाममा दर्ता हुन दिएन। नक्कली हकवाला कायम गरेर उक्त जग्गा वडा अध्यक्ष पौडेल आफैले लिएको तथ्य बाहिर आएको हो।

सरोकारवाला निकायमा पैसाको चलखेल भएपछि सरकारी नाममा स्रेस्ता कायम हुने कुर्थौली गाविस वडा नं.९/ख  कित्ता नं. २९  को १५ कठ्ठा १६ धुर २ पाई  जग्गा नक्कली हकवालाको नाममा पास गराएर  वडा अध्यक्षले श्रीमती कृष्णमाया पौडेलको नाममा  कित्ता नम्बर ४३६ कायम गरी ९ कठ्ठा र आफ्नै नाममा कित्ता नं ४३७ कायम गरेर ६ कठ्ठा १६ घुर दुई पाई जग्गा साउन १६ गते नामसारी गरेर लिएको स्रोतले माईशिर डटकमलाई बताएको छ।

मान कुमारी गोतामेको हकवाला नभएको कारणले जग्गा कसैको नाममा नामसारी हुन सकेको थिएन । उक्त जग्गा नामसारी गर्ने सम्बन्धमा दुधौली नगरपालिका वडा नं-१ हाल का वडा अध्यक्ष जय बहादुर पौडेलले आर्थिक रूपमा विपन्न सोही वडाकी वृद्ध महिला धन कुमारी पहाडीलाई आर्थिक प्रलोभनमा पारि निजको माइती पट्टिको भदैनी नाता पर्छ भनी निवेदन गर्न लगाइ सम्पूर्ण कागजात वडा अध्यक्ष आफैले तयार पारि, आफू अनुकूलका मानिसहरूलाई वडा सर्जिमिन मुचुल्कामा राखी नामसारी गर्न सर्जमिन मुचुल्का तयार गरेको एक स्थानीयले माईशिर डटकमलाई जानकारी दिए ।

उक्त जग्गाका लागि पटक पटक विभिन्न प्रलोभनमा पार्न गिरोह सक्रिय रहेको समेत कार्यालयका एक कर्मचारीले खुलाए ।

अपुताली जग्गा बिक्री भएको सम्बन्धमा माईशिर डटकमले जानकारी लिन खोज्दा मालपोत कार्यालयका सिन्धुलीका प्रमुख निर बहादुर  दाहालसँग सम्पर्क गर्दा उनको फोन उठेन ।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर