नयाँ सत्ता समीकरणः बागमतीमा पहिलो पटक कांग्रेसको सरकार बन्ने

हेटौंडा । सत्ता समीकरण परिवर्तनको चर्चासँगै बागमती प्रदेश सरकारको भविष्य सङ्कटमा परेको छ । केन्द्रमा एमाले–कांग्रेस गठबन्धनको सरकार बन्ने सहमति बनेसँगै प्रदेशमा पनि सोही अनुकूल नयाँ सरकार बन्ने देखिन्छ ।
केन्द्रीय तहमा बनेको एमाले–कांग्रेस सहमति अनुसार बागमती प्रदेश सरकारको नेतृत्व कांग्रेसको पोल्टामा पर्नेछ । एमाले–कांग्रेस गठबन्धनमा भएको सहमति अनुसार कांग्रेसले बागमती सरकारको नेतृत्वको अवसर पाउने छ । संघीयता कार्यान्वयन पश्चात बागमतीमा पहिलो पटक कांग्रेसले सरकारको नेतृत्व गर्नेछ ।
संघीयता कार्यान्वयनको ७ वर्षे अवधिमा अधिकांश समय प्रमुख प्रतिपक्ष रहेको कांग्रेस विगत ३ वर्ष सत्ता साझेदार बनेको थियो । २०७८ कात्तिकमा सत्ता साझेदारी गर्दै सरकारमा गएको कांग्रेसले नेतृत्व भने प्राप्त गर्न सकेको थिएन ।
२०७८ मा कांग्रेससहितको समीकरणबाट एकीकृत समाजवादी पार्टीका राजेन्द्र प्रसाद पाण्डेले बागमती प्रदेश सरकारको नेतृत्व पाएका थिए । सो समयमा मुख्यमन्त्री त्याग गरेर निर्वाचनको तयारीमा लागेको कांग्रेसले २०७९ पुसमा गठित सरकारमा पनि स्थान पाउन सकेन । २ महिना प्रतिपक्षमा रहेको कांग्रेस चैतमा मात्र सरकारमा फर्कियो ।
एमाले, माओवादी केन्द्र र राप्रपाको गठबन्धन सरकार २ महिनामा ढलेपछि २०७९ चैतमा सरकारमा कांग्रेस सहभागी भएको थियो । सो समयमा पनि मुख्यमन्त्रीको सशक्त दाबी गरेको कांग्रेसले माओवादी केन्द्रलाई सरकारको नेतृत्व दिएको थियो ।
एक वर्षपछि २०८० फागुनमा फेरि त्यो समीकरण भत्कियो । सो लगत्तै सरकारबाट कांग्रेस बाहिरियो र केन्द्रको भन्दा फरक समीकरणबाट सरकार गठनको कसरतमा जुट्यो । तर, कांग्रेसको सो प्रयास असफल बन्यो । अन्ततः पुनः माओवादी केन्द्र कै नेतृत्वमा एमाले, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीबिच सत्ता साझेदारी हुँदा कांग्रेस प्रमुख प्रतिपक्षको भूमिकामा पुग्यो ।
कांग्रेस विगत ४ महिनादेखि प्रमुख प्रतिपक्षको भूमिकामा रहँदै आएको छ । संघीयता कार्यान्वयनपछि भएका २ वटा निर्वाचन पश्चातका अधिकांश समय कांग्रेस प्रमुख प्रतिपक्षको भूमिकामै रहँदै आएको छ ।
२ कार्यकालको ७ वर्षे अवधिमा कांग्रेस २६ महिनामात्र सरकारमा रह्यो । सो बाहेकका अधिकांश समय प्रतिपक्षमा रहेर भूमिका निर्वाह गर्दै आएको छ ।
माओवादीलाई पनि समेट्ने प्रयत्न हुन्छः कांग्रेस
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिं लामाले केन्द्र सरकारको समीकरण निर्क्यौल भएपछि प्रदेशको समीकरणबारे निर्णय हुने बताए । सत्ता समीकरण र भागबण्डाको विषयमा शीर्ष नेताहरूले निर्णय गरिसकेको अवस्था भएकाले सरकार गठन र व्यवस्थापनका विषयमा प्रधानमन्त्री नियुक्ति पश्चात छलफल गरेर अघि बढ्ने उनको भनाइ छ ।
‘अहिले प्रक्रियागत विषय टुङ्ग्याएर समीकरण अनुसार प्रधानमन्त्री नियुक्तिको विषय नै बाँकी छ । पहिले प्रधानमन्त्री नियुक्ति नै प्राथमिकताको विषय हो । सो पश्चात प्रदेश सरकारको विषयमा छलफल तथा निर्णय हुनेछ,’ उनले भने, ‘प्रदेश सरकारमा सबै दललाई समेट्ने प्रयत्न कांग्रेसको रहन्छ । अहिलेको अवस्थाले पनि सहमति र सहकार्यलाई नै निर्देशित गरेको छ । साझेदार दलहरूसँग छलफल गरेर निर्णय गर्छौं ।’
कांग्रेस संसदीय दलका उपनेता रामकृष्ण चित्रकारका अनुसार नागरिकको सरकारको रूपमा स्थापित गर्न प्रदेश सरकारले काम गर्नुपर्ने अवस्था छ । समीकरण र अंकगणित भन्दा पनि नागरिकको अपेक्षा र आवश्यकता पूरा गर्नुपर्ने परिस्थिति रहेको उनले बताए ।
सत्ता समीकरणमा मुद्दा र एजेण्डामा सहमत हुने दलहरूलाई समेटेर अघि बढ्न समस्या नरहेको उनको भनाइ छ । सबै दल र नागरिकको सरकारका रूपमा प्रदेशलाई अघि बढाउन माओवादी केन्द्रसँग पनि साझेदारीको प्रयत्न हुने उनले प्रस्ट पारे ।
‘प्रदेशका नागरिकलाई सरकारको अनुभूति दिलाउनु प्रमुख विषय हो । सरकार सङ्किर्ण र सङ्कुचित सोचमा बन्दैन । सबैलाई समेटेर अघि बढ्ने प्रयास रहन्छ,’ चित्रकारले भने, ‘लोकतन्त्रमा सशक्त प्रतिपक्ष पनि आवश्यक रहन्छ । मुद्दा र विचार मिले सरकारमा माओवादी केन्द्रलाई पनि स्थान रहन्छ । उहाँहरूको मुद्दा र विचार के हो, त्यो अनुसारको निर्णय हुन्छ ।’
सत्ता समीकरण परिवर्तनपछि केन्द्र सरकार निर्माण नै पहिलो प्राथमिकता रहेको र सो पश्चात साझेदार दलहरूसँग छलफल गरेर सहमतिको साझा बिन्दु तयार हुने उनले बताए । प्रदेशका सबै विषयमा साझेदारहरूसँग छलफल गरेर सहमतिको बिन्दु पहिल्याउने उनको भनाइ छ ।
यस्तो छ अङ्कगणित
११० सदस्यीय बागमती प्रदेश सभामा कांग्रेसका ३७, एमालेका २७, माओवादी केन्द्रका २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३, एकीकृत समाजवादीका ७, नेपाल मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन् ।
बागमती प्रदेशमा सामान्य बहुमतका लागि कम्तीमा ५६ सांसदको समर्थन आवश्यक हुन्छ । पछिल्लो समीकरण अनुसार एमाले–कांग्रेस गठबन्धनको स्पष्ट बहुमत हुने देखिन्छ । एमाले–कांग्रेस समीकरणमा ६४ जना सांसद छन्, जुन सरकार गठनका लागि पर्याप्त हुन्छ । रातोपाटीबाट
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया