पत्रकार महासंघ दोलखाका अध्यक्ष चौलागाईद्वारा छात्रामाथि ‘सेक्सुअल ह्यारेस्टमेन्ट’

चरिकोट । नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष तथा पशुपति कन्या मन्दिर माध्यमिक विद्यालयका शिक्षक दीपशंकर चौलागाईले १४ वर्षकी छात्रा (नाम परिवर्तन–माया) माथि यौन दुर्व्यवहार गरेको विषय आन्तरिक रूपमा ‘ढिसमिस’ गर्न खोजिएको छ ।
शिक्षक चौलागाईले अध्यापन गराइरहेको पशुपति कन्या मन्दिर माध्यमिक विद्यालयका कक्षा ८ की एक छात्रामाथि दुर्व्यवहार गरेको घटना आन्तरिक रूपमा गुपचुप गर्दै लुकाइएको हो ।
यो घटना २०८१ वैशाख १८ गतेको हो । तर, विद्यालयको बदनाम हुने भन्दै तीन सय छात्राहरू अध्ययनरत पशुपति कन्या मन्दिर चरिकोटको यो घटना सामसुम गर्न खोजिएको छ । एक छात्रामाथि पुरुष शिक्षकले गरिएको अनैतिक हर्कत लाई लुकाउन खोज्नु आफैमा अक्षम्य निर्णय रहेको एक अभिभाकले बताए ।
दोलखा जिल्लाकै एक मात्रा छात्रा अध्ययन गर्ने विद्यालय हो,‘पशुपति कन्या मन्दिर’ । जिल्लाको विभिन्न स्थानीय तहका छात्राहरू यो विद्यालयमा अध्ययनरत छन् । तर, शिक्षकका कारण विद्यालय बदनाम हुन नहुने अभिभावकको भनाई छ ।
विद्यालयका प्रधानाध्यापक गोविन्द नारायण मानन्धरले दिपशंकर चौलागाईको हर्कत लुकाउन नखोजिएको जवाफ दिए । उहाँले कक्षा ८ को छात्रामाथि गरिएको अस्वाभाविक क्रियाकलाप र स्वयम शिक्षक चौलागाईले गल्ती भए माफी चाहन्छु भनेपछि तह घटाएर कक्षा २ देखि ५ सम्म मात्रै पढाउने निर्णय गरिएको मानन्धरले जानकारी दिए ।
पीडित पक्षको अभिभावकले छोरीमाथि गरिएको दुर्व्यवहारको विषयमा प्रधानाध्यापकलाई लिखित रूपमा पत्र बुझाएका थिए । शिक्षकको हर्कतको विषयमा कारबाही गर्नका लागि पत्र बुझाए पनि आन्तरिक रूपमा हामीलाई मिलौँ भनेपछि ‘नाइँ भन्न सकेनौँ’ अभिभावकको भनाई थियो ।
सामान्य परिवार, समाज प्रतिको डर, प्रधानाध्यापक र शिक्षकसँग कडा रूपमा प्रस्तुत हुन नसक्दा पीडित पक्ष अन्यायमा हुन सक्ने महिला अधिकारकर्मीहरूको भनाई छ ।
तर, यो घटना सामान्य ढङ्गले लुकाउन खोजिए पनि कानुनी प्रक्रिया एक वर्षसम्म हुने बालबालिकासम्बन्धी ऐन २०७५ को परिच्छेद ८ मा बालबालिकाविरुद्ध हुने कसुरसम्बन्धी व्यवस्था छ ।
प्रधानाध्यापक मानन्धरले शिक्षा ऐन अनुसार शिक्षक दिपशंकर चौलागाईलाई लिखित रूपमा स्पष्टीकरण सोधियो । उनले लिखित रूपमा स्पष्टीकरण दिए‘मैले यस्तो व्यवहार गरिएको होइन । गल्ती भए माफी पाउँ भन्दै आलटाल गरे । र, विद्यालय परिवारले चौलागाईलाई सजिलै माफी दिएर घटनालाई सामसुम गर्नु आफै न्याय हुन नसक्ने अर्का अभिभावको भनाई छ ।
मानवअधिकारकर्मी तथा इन्सेक दोलखाका प्रतिनिधि उद्धव प्रसाद पोखरेलले यो घटनाको विषयमा हल्ला सुनिएको हो तर। पीडित पक्ष बाहिर आउन नसकेको बताए ।
‘बालिकामाथि दुर्व्यवहारको घटना न्यायिक निकायसम्म नपुगी आन्तरिक रूपमा मिलाउनु र मिलाउन खोज्नु पीडित पक्ष अन्यायमा पर्नु हो,’ इन्सेक पोखरेले भने,‘पीडित पक्षले न्याय पाउनुपर्छ, यो विश्वव्यापी सिद्धान्त हो । यस विषयमा हामी प्रतिबद्ध छौँ।’
यो घटनालाई सजिलै ढाकछोप गर्न खोजिए पनि सामसुम हुन नसकिने महिला अधिकारकर्मीहरूको भनाई छ । आन्तरिक कारबाही भन्दै प्रधानाध्यापक मानन्धरले शिक्षक चौलागाईको तह घटाएर बचाउ गरे सजायको भागिदार प्रधानाध्यापक समेत हुने महिला अधिकारकर्मी सिर्जना कार्कीको भनाई छ ।
खराब नियत भएको शिक्षक बचाउका लागि विद्यालय व्यवस्थापन समिति, विद्यालयका प्रधानाध्यापक आन्तरिक छलफलले कन्या मन्दिरको छात्रामाथि भएको दूर व्यवहार ‘डिसमिस’ गर्नु सामाजिक अपराध भएको कार्की बताउँछिन् ।
यो राम्रो होइन । घटना होइन भने किन झुटो आरोप लगाउने । हो, भनेपछि कारबाही गर्नु पर्यो । सामुदायिक विद्यालयमा किन राम्रो हुन सकेन । भौतिक संरचना राम्रो भएर भएन, अनैतिक शिक्षा रोक्नु पर्ने अधिकारकर्मी कार्कीको भनाई छ ।
‘यो घटना जति सामान्य ढङ्गले गुपचुप गरियो । यसले कन्याका तीन सय छात्राहरूका लागि खतरा, असुरक्षित र अन्यायपूर्ण छ,’ महिला अधिकारकर्मी कार्कीले भनिन्,‘यो विषय अब बाहिर आउँछ । बालिकामाथि यस्तो दुर्व्यवहार गर्न मिल्छ । बालमैत्री नगरपालिका भन्ने अनि मेयर हिँड्ने बाटैमा यस्तो घटना लुकाउन मिल्छ।’
पत्रकार महासंघ दोलखाको अध्यक्ष भएको दम्भसहित विद्यालयमा रवैया देखाउँदै आएका चौलागाईले छात्रामाथि गरिने यो घटना पहिलो भने होइन । विगतमा पनि यस्तो घटना हुने गरेको तर, बाहिर आउन नसकेको विद्यालयका छात्राहरू बताउँछन् ।
यस विषयमा सम्बन्धित पक्षको भनाइहरू
विद्यालयका प्रधानाध्यापक गोविन्द मानन्धर
एक छात्रामाथि गरिएको घटना विवरण हेर्दा र बुझ्दा असामान्य लाग्यो । यो घटना १८ गते भएको रहेछ । म विद्यालयकै कामले धुलिखेल थिए । फर्किए लगतै यस विषयमा जानकारी लिए । वैशाख २१ गते छात्राको अभिभावक मनोज (नाम परिवर्तन) मेरो छोरीमाथि शिक्षक दिपशंकर चौलागाईले दुर्व्यवहार गरेको, अस्वाभाविक, अभद्र व्यवहार, मेरो छोरी विद्यालयमा असुरक्षित रहेको भन्दै निवेदन दिन आउनु भयो । यसको विकल्पमा के गर्ने भनेर विद्यालय व्यवस्थापनको टिमसँग छलफल गरियो ।
घटना सामान्य नभएपछि छात्राले अभिभावकलाई जानकारी गराएको देखिन्छ । यसपछि अभिभावकले यो घटना अस्वभनीय भएको भन्दै शिक्षकमाथि कारबाही गरी पाउँ भनी वैशाख २१ गते निवेदन दिएको थियो ।
कानूनी प्रावधान र सजाय
बालबालिकासम्बन्धी ऐन २०७५ को परिच्छेद ८ को दफा ६६ मा बालबालिकाविरुद्ध हुने कसुरसम्बन्धी व्यवस्था छ । यो दफाको उपदफा ९३० मा कस्तो कार्यलाई बाल यौन दुर्व्यवहार मानिन्छ र त्यस्तो कार्य गर्नेलाई बुँदागत रूपमा बाल यौन दुर्व्यवहार भनिन्छ:
(क) अश्लील चित्र, श्रव्य दृश्य वा यस्तै खाले अन्य सामग्री देखाउने, देखाउन लगाउने । अश्लील तथा यौनजन्य आचरण, व्यवहार झल्कने अभिव्यक्ति, हाउभाउ प्रदर्शन गर्ने, बाल अश्लीलता प्रदर्शन गर्ने, गराउने ।
(ङ) यौनजन्य मनसायले शरीरको संवेदनशील अंगमा छुने, चुम्बन गर्ने, समाउने, अङ्कमाल गर्ने वा आफ्नो, अरू कसैको शरीरको संवेदनशील अङ्ग छुन, समाउन लगाउने । यौनजन्य मनसायले बेहोस पार्ने, यौनजन्य अङ्ग प्रदर्शन गर्ने वा गर्न लगाउने लाई ७५ हजार रुपैयाँ जरिवाना र तीन वर्षसम्म कैद हुने व्यवस्था छ ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया