हामी आयौं

हामी आयौं, एउटा तृष्णा लिएर!  सञ्चारको सहज र सुलभ माध्यम अनलाइन पोर्टल मार्फत हामी तपाईँहरू माझ आएका छौ । हजारौंको संख्यामा रहेका नेपाली अनलाइनहरुको माझमा हामी पनि आएका छौँ । अहिले अनलाईन पोर्टलको थालनी नौलो होइन । नौलो त हामीले के गर्दछौं भन्ने हो । हाम्रो अबको यात्रा कुन दिशा तर्फ केन्द्रित हुन्छ भन्ने प्रश्न महत्वपूर्ण हो ।

नेपाली जनता आफैले गणतन्त्र घोषणा गरेको गौरवपूर्ण र ऐतिहासिक दिन पनि हो, आज । २०६५ जेठ १५ गते आजकै दिन २४७ वर्षदेखिको राजतन्त्रात्मक शासन व्यवस्थाको अन्त्य गरी नेपालमा गणतन्त्र स्थापना भएको थियो। यस गौरवपूर्ण र ऐतिहासिक दिनलाई साक्षी राखेर नै हामीले माईशिर मिडीया प्रा.लि. मार्फत डिजिटल अनलाइन समाचार पोर्टल माईशिर डटकम लाई औपचारिक रुपमा सुरुवात गरेका छौं ।

पत्रकारिता क्षेत्र गणतन्त्रको एउटा महत्वपुर्ण स्तम्भ पनि हो । गणतन्त्रमा मात्र पत्रकारिता सम्भव हुन्छ । जब गणतन्त्र खतरामा पर्छ, तब पत्रकारिता पेशा संकटमा पर्छ । त्यसैले हामी जहिलेपनि प्रेस स्वतन्त्रता र लोकतन्त्रमा विश्वास गर्दछौं र यही मान्यताका साथ पत्रकारितालाई अगाडी बढाउने छौं । ‘समृद्ध नेपाल सुखी नेपाली’ निर्माणमा सञ्चारको क्षेत्रवाट सहयोग गर्ने हाम्रो चाहना हो ।गणतन्त्रको संस्थागत विकासले आम जनताको जीवनमा परिवर्तन ल्याउनु पर्छ । हामी यी भुईमान्छेहरूको सफलताको कथा तपाईँहरूसँग बाड्न चाहन्छौं, जसको जीवन साँच्चै परिवर्तन भएको होस् ।

संचार क्षेत्रमा रहेर लामो समय कलम चलाएको हाम्रो अनुभवले भन्छ, अहिले पनि पत्रकारितामा गर्नुपर्ने काम धेरै छन् ।सुशासन, आर्थिक विकास र समृद्धिका समाचार आउन बाँकी नै छन् । अर्थतन्त्रमा सम्भावनाको ढोका खोल्न ढिला भइसकेको छ । तर, पनि यी ढोकाहरू चाहेर पनि लामो समय बन्द गर्न नसकिने अवस्थामा हामी छौं ।

सञ्चारमाध्यम समाजको दर्पण भनिएपनि आजको सञ्चारमाध्यमले त्यतिमात्रै भएर पुग्दैन भन्ने हाम्रो ठम्याइ छ। आजको सञ्चारमाध्यमले सूचना, विचार, छलफल र चिन्तन आदिका माध्यमबाट मान्छेभित्रको मान्छेलाई जगाउन सक्नुपर्छ। सिंगो समाज प्रगतितर्फ पाइला चाल्न प्रेरित होस्– एउटा नैतिक परिधिमा रहेर भन्ने आशयका साथ माईशिरले अहिलेको समाजमा देखिएको सूचना जानकारी र सत्यप्रतिको भोक मेटाउन अथक प्रयास गर्नेछ। समग्रमा भन्दा हामीले नीति निर्माणको क्षेत्रमा पैरवी गर्नेछौ । निजी क्षेत्रलाई काम गर्न उत्साहित बनाउनेछौं, आम जनताको अनुभव बाँड्नेछौं । सञ्चार माध्यमबाट हामीले गर्न सक्ने मोटामोटी काम यी नै हुन् भन्ने हामीलाई लाग्छ । पूर्वाग्रही नभैकन सकारात्मक सोच राखेर हामीले हाम्रो यात्रा अगाडि बढाउनेछौं ।

कुनै पनि संस्था जन्मनु ठूलो कुरा होइन । ठूलो कुरा त त्यसले आफ्नो यात्रामा कति प्रभाव पार्न सक्छ भन्ने हो । हाम्रा अभिभावकहरूले मन खोलेर हाम्रो यात्रामा साथ दिनुहुनेछ भन्ने हामीलाई छ, हाम्रो उत्साहमा ऊर्जा थप्नु हुनेछ । यस घडीमा विज्ञ पाठक, सहयोगी हातहरू र मार्गदर्शन गर्ने अग्रज तथा अभिभावहरूबाट सधैँ सहयोग पाउनेछौं भन्ने आशा र विश्वास लिएका छौं । तपाईहरूकै कारण हामी हाम्रो उद्देश्यको महामार्गमा यात्रा गर्न पाउनेछौं ।

हामी ढिलो नै सही, सत्य हुनेछौं । हतारको साहित्य भनिएपनि पत्रकारितामा गल्ति अक्षम्य छ । अनलाइन पत्रकारिता झनै संवेदनशिल बिधा हो । अनलाइनमा राखिएको सामाग्री निमेषभरमै विश्वभर पुग्दछ । यो आफैंमा सबै माध्यम होः पढिने, हेरिने र सुनिने माध्यम । हामी यो अवसरको सदुपयोग गर्नेछौं । हामी पठनीय सामाग्री लिएर आउनेछौं। हाम्रो उपस्थिति केबल पोर्टल को बाढी बिच मिसिन आएको एउटा ::-खहरे मात्र हुने छैन । सूचना र सञ्चारको भरपर्दो माध्यम हुनेछ भन्ने विश्वास दिलाउन चाहन्छौ। यही हाम्रो तृष्णा पनि!

                                                            सत्य – तपाईंले जान्न चाहेको!!

 

                                                                                                   -प्रकाशक/ सम्पादक


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय